अङ्ग्रेजी नयाँ वर्षदेखि राजधानीमै केबलकार सञ्चालन हुने भएको छ । काठमाडौंको थानकोट (गोदामचौर) देखि चन्द्रागिरि जोड्ने ‘चन्द्रागिरि केबलकार आयोजना’ जनवरीदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । फनपार्क प्रालिले निर्माण गरिरहेको उक्त केबलकार यसअघि आगामी दशैंदेखि नै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने योजना थियो । तर, भूकम्पका कारण केबलकारको व्यावसायिक सञ्चालनको समय सार्नुपरेको आयोजनाका लगानीकर्ता तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।
साढे दुई किलोमिटर लामो सो केबलकारको ‘बटम’ र ‘टप स्टेशन’सँगै टावर निर्माणको काम धमाधम भइरहेको छ । कुल ११ ओटा टावर जडान हुने केबलकारका लागि यसैसाता नेपाली सेनाको हेलिकोप्टरमार्फत ‘टावर इक्वीपमेण्ट’ सम्बन्धित स्थानमा झारिएको आयोजनाका प्रबन्धक दिलीप श्रेष्ठले जानकारी दिए । आगामी ३ महीनाभित्र केबलकार आयोजनाका अधिकांश काम सकिने र प्राकृतिक तथा मानवीय अवरोध नआए अङ्ग्रेजी नयाँ वर्षदेखि व्यावसायिक रूपमा केबलकार सञ्चालनमा आइसक्ने श्रेष्ठको भनाइ छ ।
केबलकार प्रतिघण्टा १ हजार यात्रुलाई चन्द्रागिरि पुर्याउन सक्ने क्षमताको हुने बताइएको छ । आयोजनाका अनुसार ३८ ओटा केबलकारले यात्रु ओसार्नेछन् । एउटा केबलकारमा ८ जना यात्रु अटाउँछन् । यसअघि सञ्चालन हुँदै आएको गोरखाको मनकामना केबलकारको एउटा कारको क्षमता भने ६ जना यात्रु रहेको छ । केबलकारका लागि आवश्यक ‘इक्वीपमेण्ट’ अष्ट्रिया तथा सिङ्गापुरबाट आयात गरिएको आयोजनाले जानकारी दिएको छ ।
थानकोटबाट केबलकारमा ८ मिनेटमै चन्द्रागिरि डाँडामा पुगिनेछ । सो स्थानमा केबलकारसहित एकसाथ धेरै ‘प्रडक्ट’मा काम भइरहेको छ । चन्द्रागिरि डाँडाको सबैभन्दा माथिल्लो बिन्दु (२ हजार ४ सय ७५ मिटर)मा अवस्थित ‘इच्छापुरेश्वरम् महादेव मन्दिर’ यहाँको सबैभन्दा आकर्षणका रूपमा रहनेछ । पशुपतिनाथको झल्को दिनेगरी भव्य मन्दिर निर्माणका लागि मात्र १० करोड रुपैयाँ लगानी गरिने फनपार्क प्रालिका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । निर्माण पूरा भइसकेपछि रातको समयमा सो मन्दिर काठमाडौंबाटसमेत अवलोकन गर्न सकिने गरी भव्य सजावट गर्ने आयोजनाले बताएको छ ।
आयोजनाअन्तर्गत चन्द्रागिरि डाँडामा पाँचतारे स्तरको ‘लक्जरी रिसोर्ट’, ‘मनोरञ्जन पार्क’, ‘बोटानिकल गार्डेन’, ‘फोरडी थिएटर’, ‘मल्टिप्रपोज स्टेज’, ‘भ्यूटावर’, ‘गोल्फकोर्ट’, ‘रिभल्विङ रेष्टुराँ’, ‘जीप फ्लायर’जस्ता संरचना निर्माण हुँदै छन् । त्यसमध्ये रेष्टुराँ, भ्यूटावर, फोरडी थिएटर, स्टेजजस्ता संरचना निर्माणको काम भइरहेको छ । थिएटरमा विशेषगरी चन्द्रागिरि क्षेत्रमा पाइने वनस्पति र जीवजन्तुको जानकारी दिने भिडियोहरू प्रदर्शन गरिनेछ । जीव र वनस्पति विज्ञानका विद्यार्थी तथा जिज्ञासुलाई अधिकतम जानकारी दिने उद्देश्यले यस प्रकारका भिडियो देखाउने योजना रहेको पौडेलले बताए ।
चन्द्रागिरि डाँडोसहित त्यस वरपरका २० हेक्टर जमीन कम्पनीले ४० वर्षका लागि सरकारसँग लिजमा लिएको छ । सो सम्झौता थप ४० वर्षका लागि नवीकरण गर्न सकिने व्यवस्था रहेको बताइएको छ । केबलकारको ‘बटम स्टेशन’मा कम्पनीले ‘मल्टिपर्जाेज’ भवन निर्माण गरिरहेको छ, जहाँ बुटिक पसल, क्याफे, पूmडकोर्टजस्ता सुविधा उपलब्ध हुनेछन् । १ सय रोपनी जग्गामा फैलिएको ‘बटम स्टेशन’मा २ सयभन्दा बढी कार, ४ सय मोटरसाइकल र १ सय बस एकसाथ पार्किङ गर्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । परियोजना निर्माणका लागि अहिले ३ सयभन्दा बढी कामदार खटिएका छन् ।
आयोजनाले प्रभावित क्षेत्रका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रोजगारीमा प्राथमिकता दिने योजना बनाएको छ । साथै, सामुदायिक वनको रक्षाको जिम्मेवारीसमेत पाएको आयोजनाले भूकम्पपछि त्यस वरपरमा भत्किएका सामुदायिक विद्यालयका लागि नगद सहयोगसमेत गरेको छ ।
पूरै काठमाडौं उपत्यका प्रत्यक्ष अवलोकन गर्न सकिने चन्द्रागिरि डाँडाबाट विभिन्न हिमालको दृश्यावलोकन गर्न सकिन्छ । उक्त डाँडाबाट नेपालको तराईसहित भारतका कतिपय क्षेत्रसमेत देखिने गरेको बताइन्छ । ऐतिहासिक क्षेत्रमा ठूलो आयोजना कार्यान्वयन गर्न निकै चुनौतीको सामना गर्नुपरेको आयोजनाका सञ्चालकहरू बताउँछन् । पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडामा अवस्थित इच्छापुरेश्वरम् महादेवको मन्दिर दर्शन गरेपछि उपत्यकामा आक्रमण गरेको र विजय प्राप्त गरेको किंवदन्ती छ । ऐतिहासिक महत्त्वको यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकस्थल बनाउन आयोजना सफल हुने अपेक्षा लगानीकर्ताहरूको छ ।
स्रोत: अभियान
No comments:
Post a Comment